मिति २०८३/०४/०९ र १० गते
उर्लाबारी बहुमुखी क्याम्पसको मानव संशाधन विकास तथा पदपूर्ति उप–समितिको आयोजनामा सञ्चालित “शैक्षिक संस्थामा द्वन्द्व व्यवस्थापन” विषयक दुईदिने तालिम मिति २०८३/०४/१० गते (आइतबार) सफलतापूर्वक सम्पन्न भएको छ।
क्याम्पस परिसरमा आयोजित उक्त तालिमको समापन कार्यक्रम क्याम्पस सञ्चालक समितिका सदस्य तथा उप–समिति संयोजक मुक्ति प्रकाश न्यौपानेज्यूको सभापतित्वमा सम्पन्न भएको थियो। तालिममा मानव अधिकार मञ्च नेपालका विशेषज्ञ सहजकर्ताहरू मनकुमार बराइली र सन्तोष मगरज्यूले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
शैक्षिक संस्थाभित्र उत्पन्न हुन सक्ने विभिन्न प्रकारका द्वन्द्वको पहिचान, विश्लेषण तथा तिनको शान्तिपूर्ण र प्रभावकारी व्यवस्थापन गर्ने सीप अभिवृद्धि गर्दै सकारात्मक, सुरक्षित र सहयोगात्मक शैक्षिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको क्याम्पस प्रमुख खेमराज कार्कीज्यूले जानकारी दिनुभयो।
तालिमका मुख्य विषयवस्तुहरू:
पहिलो दिन: द्वन्द्वको अवधारणा, प्रकृति र व्यवस्थापनका आधारभूत सिद्धान्तहरूबारे स्पष्ट पारिएको थियो।
दोस्रो दिन: शैक्षिक संस्थामा देखापर्ने द्वन्द्वका प्रकार, कारण, असर, प्रभावकारी संवाद, समन्वय, सहकार्य, नेतृत्वको भूमिका तथा समाधानका व्यावहारिक उपायहरूमा विस्तृत प्रस्तुति गरिएको थियो।
सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न अभ्यास, केस अध्ययन (Case Study), भूमिका निर्वाह (Role Play) तथा अन्तरक्रियात्मक विधि अपनाइएको थियो। तालिममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका मुख्य भनाइहरू:
सञ्चालक समिति सदस्य तथा उप-समिति संयोजक मुक्ति प्रकाश न्यौपाने: “शैक्षिक संस्थामा स्वस्थ सम्बन्ध विकास गर्न, आपसी विश्वास अभिवृद्धि गर्न तथा विवादलाई संवाद र समझदारीमार्फत समाधान गर्न यस्ता तालिमहरू अत्यन्त प्रभावकारी हुन्छन्।”
उप–समिति सदस्य जीवनकुमार घिमिरे: “तालिमबाट सहभागीहरूमा द्वन्द्व व्यवस्थापनसम्बन्धी ज्ञान, सीप र सकारात्मक सोचको विकास भएको छ। यसले क्याम्पसभित्र थप सहयोगात्मक र सौहार्दपूर्ण वातावरण निर्माणमा मद्दत पुग्नेछ।”
क्याम्पसका कार्यवाहक अध्यक्ष मीनकुमार दाहाल: “‘संवाद, सहकार्य र समझदारी—शान्तिपूर्ण शैक्षिक वातावरणको आधार’ भन्ने नाराका साथ सञ्चालित यस तालिमले सहभागीहरूमा विवादहरूलाई समझदारीका माध्यमबाट समाधान गर्ने व्यावहारिक क्षमता अभिवृद्धि गरेको छ।”
यस्ता रचनात्मक कार्यक्रमहरूले क्याम्पसको समग्र शैक्षिक तथा प्रशासनिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आयोजक उप-समिति सम्पूर्ण सहभागी, प्रशिक्षक तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।



