मिति: २०८३/०२/२३, शनिवार
यस उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा आगामी जेठ २९ र ३० गते दुई दिवसीय ‘प्रथम राष्ट्रिय प्राज्ञिक सम्मेलन–२०८३’ आयोजना हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ । सोही गौरवमय कार्यक्रमको सन्दर्भमा आज मिति २०८३ साल जेठ २३ गते शनिवारका दिन क्याम्पसद्वारा एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको रूपरेखा र तयारीबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छ।
क्याम्पसले ‘उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्तन र दिगो विकास’ विषयक यस सम्मेलनमार्फत आगामी जेठ २९ र ३० गते दुई दिवसीय ‘प्राध्यापक–विद्यार्थी सहकार्यात्मक अनुसन्धानात्मक लेख प्रस्तुतीकरण’ (Faculty-Student Collaborative Research Paper Presentation) कार्यक्रम सञ्चालन गर्न लागेको हो।
उच्च शिक्षामा अनुसन्धान संस्कृतिको विकास गर्ने, प्राध्यापक र विद्यार्थीबीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने, अनुसन्धानमा आधारित सिकाइको प्रवर्द्धन गर्ने तथा नवीन ज्ञान आदान–प्रदान गर्ने मुख्य उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको हो।
पत्रकार सम्मेलनका मुख्य बुँदाहरू:
सहभागिता: सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसका प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाहरूको व्यापक सहभागिता रहने जानकारी क्याम्पस प्रमुख खेमराज कार्कीले दिनुभएको छ।
विषयगत क्षेत्रहरू: सम्मेलनमा शिक्षा, मानविकी, व्यवस्थापन, सामाजिक विज्ञान, डिजिटल रूपान्तरण, जलवायु परिवर्तन, दिगो विकास, वित्तीय साक्षरता, सुशासन, उद्यमशीलता, गुणस्तरीय शिक्षा, समालोचनात्मक चिन्तन तथा स्थानीय एवं आदिवासी ज्ञान प्रणालीलगायत १३ वटा विषयगत क्षेत्रमा अनुसन्धानमूलक प्रस्तुतीकरण गरिने प्रचारप्रसार उपसमिति संयोजक एवं पूर्व क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले प्रष्ट पार्नुभएको छ।
क्याम्पसको गौरव र प्राज्ञिक विकास: पत्रकार सम्मेलनमा अनुसन्धान तथा प्रकाशन उपसमितिकी संयोजक सह-प्राध्यापक भीष्मकुमारी रेग्मीले पत्रकारहरूका जिज्ञासाको उत्तर दिँदै कार्यक्रम सञ्चालनको ढाँचाबारे प्रकाश पार्नुभएको थियो। त्यसैगरी, क्याम्पसका कार्यवाहक अध्यक्ष मिन प्रसाद दाहालले यो सम्मेलन क्याम्पसको इतिहासमै गौरव बढाउने महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गर्नुभएको छ।
QAA प्रक्रिया र वर्तमान अवस्था: सो अवसरमा सहायक प्राध्यापक शिवप्रसाद भट्टराईले क्याम्पसको विगत र वर्तमान अवस्थाबारे जानकारी दिँदै विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रक्रिया अन्तर्गत अन्तिम पीआरटी भिजिटले दिएका अल्पकालीन र दीर्घकालीन सुझावहरूलाई पूर्ण रूपमा कार्यान्वयन गरी प्रतिवेदन पेश भइसकेको सुखद यथार्थ सञ्चारकर्मीमाझ साझा गर्नुभएको थियो।
“यो सम्मेलनले अनुसन्धान र नवप्रवर्तनमा आधारित उच्च शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। क्याम्पसको यस प्राज्ञिक महाकुम्भलाई सफल बनाउन सम्पूर्ण सञ्चारमाध्यम, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थी महानुभावहरूबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ।”




