UMC Affiliated to Tribhuvan University

‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरिएको सम्बन्धमा ।
मिति : २०८३/०२/१७ गते, आईतवार
यस उर्लाबारी बहुमुखी क्याम्पसले स्थापना कालदेखि नै गुणस्तरीय तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको यहाँहरूमा सर्वविदितै छ। अबका विद्यार्थीहरूलाई श्रमबजारको मागअनुसार सक्षम, प्रतिस्पर्धी र रोजगारमुखी बनाउन उद्योग तथा शैक्षिक क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको महसुस गर्दै यस क्याम्पसद्वारा ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरिएको सहर्ष जानकारी गराउँदछौँ।
क्याम्पसको रोजगार प्रवर्धन, विद्यार्थी परामर्श तथा गुनासो सुनुवाइ उपसमितिका संयोजक श्री नगेन्द्र बहादुर घिमिरेको सभापतित्वमा मिति २०८३ साल जेठ १७ गते आयोजित एक विशेष भेलाले शिक्षा र उद्योग–व्यवसाय क्षेत्रबीचको दूरी घटाउँदै बजारको आवश्यकता, आवश्यक सीप तथा रोजगारीका सम्भावनाबारे नियमित संवाद र सहकार्य गर्ने उद्देश्यका साथ ११ सदस्यीय मञ्च गठन गरेको छ।
कार्यक्रमका मुख्य विशेषता तथा भनाइहरू:
• प्रमुख अतिथि मीना खतिवडा: उर्लाबारी बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको र दक्ष जनशक्ति उत्पादनमा सरोकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
• विशिष्ट अतिथि भोलेश्वर दुलाल (पूर्व विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष एवं उद्योगपति): दक्ष जनशक्ति उत्पादन गर्न सके युवाहरू विदेशिनुपर्ने बाध्यता कम हुने बताउँदै व्यवहारिक ज्ञान, सीपमूलक शिक्षा, कार्यक्षमता अभिवृद्धि तथा आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने धारणा राख्नुभयो। साथै, सरकारले ल्याएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए सकारात्मक परिणाम प्राप्त हुने उल्लेख गर्नुभयो।
• स्थानीय व्यवसायीहरू (सचिन शाक्य, निरु चौहान, बोधराज खतिवडा, राजीव खड्का, मुकुन्द न्यौपाने लगायत): बजारमा रोजगारीका अवसर भए पनि दक्ष जनशक्ति अभाव रहेको गुनासो गर्दै शिक्षा र उद्योग क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको सुझाव दिनुभयो।
• क्याम्पस प्रमुख खेमराज कार्की: क्याम्पस सञ्चालक समितिको अभिभावकत्व, मार्गदर्शन र सरोकारवालाहरूको सक्रिय सहभागिताबिना यस्तो प्रयास सफल हुन नसक्ने बताउँदै सबै पक्षलाई साथ दिन आग्रह गर्नुभयो। उहाँले उद्योग–क्याम्पस मञ्च स्थापना गरी कार्ययोजना, निर्देशिका र कार्यविधि निर्माण गरेर यसलाई सक्रिय रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। यसबाट शिक्षाको गुणस्तर वृद्धि हुने, युवाहरू विदेशिने क्रममा कमी आउने र सीपको विकास भई रोजगारीको नयाँ अवसरहरू सिर्जना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
गठित ११ सदस्यीय ‘उद्योग–क्याम्पस संवाद मञ्च’ को विवरण:
पद नाम
अध्यक्ष (संयोजक) : ध्रुवचन्द्र पराजुली
सहसंयोजक : निरु चौहान
सदस्य सचिव : अम्बिका गौतम
सदस्यहरू : राजीव खड्का, बोधराज खतिवडा, मनोज लुइँटेल, निर्मला गौतम, मनोरथ भण्डारी, रामु तिवारी, ईश्वरी खड्का र रञ्जु खतिवडा ।
गुणस्तर सुनिश्चितताको महत्वपूर्ण मापदण्ड मानिने QAA प्राप्तिको अन्तिम प्रक्रिया पूरा गरिसकेको यस क्याम्पसले विद्यार्थी केन्द्रित तथा रोजगारमुखी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। क्याम्पसको यो नवीन पहलले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। सहायक प्राध्यापक श्री मिलन ढकालबाट हाल सम्मका क्याम्पसका गतिविधीका बारेमा प्रस्तुत गर्नुभएको थियो ।
उक्त विशेष भेला तथा कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक शिव प्रसाद भट्टराईले गर्नुभएको थियो।