उर्लाबारी । मिति २०८२/१०/१० गते शनिबारका दिन उर्लाबारी बहुमुखी क्याम्पसले रणनीतिक योजना (२०२६–३०) का विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम उर्लाबारी नगरपालिका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेको आतिथ्यतामा तथा रणनीतिक योजना उप–समिति संयोजक जीवनकुमार घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा क्याम्पस सञ्चालक समिति, पूर्व सञ्चालक समिति सदस्य, स्थानीय विद्यालयका प्रधानाध्यापकहरू, प्राध्यापकहरू, सल्लाहकारहरू, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य रणनीतिक योजना उप–समिति सदस्य गोपाल कटुवालले राख्दै प्रस्तावित रणनीतिक योजनामा आवश्यक थपघट गर्न सबै सरोकारवालासँग सुझाव माग गरेका थिए। उनले क्याम्पसको दिगो विकासका लागि के–कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा खुला धारणा राख्न आग्रह गरे।
कार्यक्रमको औचित्यबारे संयोजक जीवनकुमार घिमिरेले प्रष्ट पार्दै क्याम्पसको आवश्यकता, प्रभावकारी कार्यान्वयन, संस्थागत मजबुती, गुणस्तरीय जनशक्ति उत्पादन लगायतका दीर्घकालीन योजनाका लागि सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको बताए।
स्याट संयोजक तथा सहायक प्राध्यापक शिवप्रसाद भट्टराईले क्याम्पसको समग्र परिचय सहित हाल सञ्चालनमा रहेका तथा प्रस्तावित कार्यक्रमहरूको प्रस्तुति दिएका थिए। उनका अनुसार क्याम्पसमा अंग्रेजी र नेपाली माध्यममा पढाइ हुँदै आएको छ भने प्रविधिमैत्री अध्यापन विधि अपनाउन थालिएको छ। अनुसन्धान कार्यको सुरुवात, जर्नल प्रकाशन, विभिन्न स्थानमा सोधपत्र प्रस्तुति, ८ वटा भवन, प्रोजेक्टरको व्यवस्थापन, व्यवस्थित पुस्तकालय र कम्प्युटर कक्षा, अतिरिक्त क्रियाकलाप, शान्त र सुरक्षित वातावरणका लागि सीसी क्यामेरा, शुद्ध खानेपानी, निःशुल्क वाइफाइ, छात्रवृत्ति, प्राथमिक उपचार, मिडिया ल्याबको सुरुवात, परामर्श सेवा, पुरस्कार, शैक्षिक भ्रमण, विविध ज्ञानमूलक कक्षा, सफ्टवेयर निर्माण, हरियाली प्रवर्द्धन र अनुशासनमा क्याम्पस सक्रिय रहेको उनले बताए। साथै क्याम्पसलाई क्यूएए (QAA) मा लैजान विभिन्न गतिविधिलाई तीव्रता दिइएको जानकारी गराए।
रणनीतिक योजना प्रस्तुत गर्दै प्राध्यापक मिलन ढकालले स्टेकहोल्डरहरूको सहयोग सकारात्मक रहेको, नयाँ विषय थपिँदा क्याम्पसको आकर्षण बढ्ने सम्भावना रहेको र व्यवस्थापकीय सुशासनमा जोड दिइने बताए। साथै क्याम्पसका चुनौती पहिचान गरी सुझावका आधारमा योजना निर्माण गरिने, पुस्तकालयलाई थप व्यवस्थित गरिने उल्लेख गरे।
अन्तरक्रियामा सृजना आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराज दाहाल, पूर्व सञ्चालक राजेन्द्र कार्की, स्थानीय व्यवसायी रोहित न्यौपाने, बुद्धिजीवी बिनोद दाहाल, सल्लाहकार कृष्ण गुरुङ, पूर्व अध्यक्ष मुक्तिनाथ न्यौपाने, सहायक प्राध्यापक हिम्मत खड्का, पूर्व कार्यवाहक अध्यक्ष प्रमोद निरौला, बुद्धिजीवी पूर्णप्रसाद घिमिरे, राजु दाहाल, पूर्व सञ्चालक गंगाप्रसाद बास्तोला, पूर्व अध्यक्ष खड्गबहादुर थापा तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेलगायतले क्याम्पसको वर्तमान अवस्थाको विश्लेषण गर्दै नयाँ र व्यावहारिक सुझाव दिएका थिए।
कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख खेमराज कार्कीले समसामयिक विषयमा उठेका जिज्ञासाहरूको प्रष्टिकरण गर्दै सुझावहरूलाई रणनीतिक योजनामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याम्पसका कार्यबाहक अध्यक्ष मीनप्रसाद दाहालले सुझावलाई कार्यान्वयनमा लाने बताएका छन् ।
For Photo : facebook.com/urlabarimcampus




