UMC Affiliated to Tribhuvan University

उर्लाबारी । विश्वविद्यालय अनुदान आयोग नेपाल (यूजीसी) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्तिको प्रक्रियामा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा पाँच दिने PRT (Peer Review Team) को अनुगमन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। २०८२/०८/१८ गते बिहीबारदेखि सुरु भएको भ्रमणका क्रममा यूजीसीको अनुगमन टोलीले क्याम्पसको शैक्षिक, प्रशासनिक , अतिरिक्त क्रियाकलाप, सामुदायिक गतिविधि, शैक्षिक अवस्था, भौतिक संरचनासहित समग्र प्रणालीको निरीक्षण गरेको छ।

भ्रमण टोलिमा टोली प्रमुख प्रा. डा. बासुदेव काफ्ले, सदस्यहरू प्रा. डा. रजनी मल्ल र सचिवालय कर्मचारी नविना चौलागाईं सहभागी हुनुभएको थियो । निरीक्षणका क्रममा टोलीले क्याम्पसमा गुणस्तरीय शैक्षिक अभ्यास लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै (QAA) प्राप्ति एक दिनको प्रक्रिया नभई शैक्षिक गुणस्तर प्राप्तिको निरन्तर  प्रक्रिया रहेको टिप्पणी गरेको थियो ।

अनुगमन टोलीले पूर्णकालीन शिक्षकको प्रभावकारी व्यवस्थापन, कक्षा ११ र १२ का लागि छुट्टै विद्यालय संरचना तथा दीगो गुणस्तर सुनिश्चितताका उपायहरू मजबूत बनाउन सुझाव दिएको छ। क्याम्पसले (QAA) प्राप्तिमा सफल हुने सम्भावना उच्च रहेको पनि टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ । समापन समारोह कार्यक्रममा क्याम्पस प्रमुख खेमराज कार्कीले क्याम्पसको शैक्षिक यात्रालाई (QAA) मार्फत थप उचाइमा पुर्याइने  प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसै गरि  क्याम्पस संचालक समिति अध्यक्ष बिष्णु गुरागाईंले क्याम्पसको सर्वाङ्गिण बिकाशमा जोड दिदै (QAA) प्राप्तिका लागि सबै पक्षले सहयोग गर्न आव्हान गर्नुभयो । SAT संयोजक शिवप्रसाद भट्टराईले क्याम्पसको वर्तमान अवस्था, उपलब्धि र सुधारका क्षेत्रबारे विस्तृत प्रेजेन्टेशन प्रस्तुत गर्नु भएको थियो भने  प्राध्यापक रबिन भट्टराईले उद्घाटन तथा समापन समारोह कार्यक्रमको संचालन गर्नु भएको थियो ।

क्याम्पसले QAA प्राप्ति प्रकृयामा २०८०/०२/०२ गते आशय पत्र (LOI) विश्वविद्यालय अनुदान आयोग बाट नबिकरण भएको थियो भने मिति २०८०/०३/१२ गते क्याम्पसले पुनरावृत्ति गरेको SSR नबिकरण भएको थियो । यस अघि Peer Review Team ले पहिलो पटक क्याम्पसको तयारी मूल्याङ्कन भ्रमण २०८०/१०/२४ देखि २०८०/१०/२६ गते ३ दिन सम्म गरेको थियो ।

Peer Review Team  का संयोजक प्रा.डा. बासुदेव काफ्लेका अनुसार यो ५ दिने भ्रमणनै QAA प्राप्तिका लागि अन्तिम भ्रमण हुनसक्ने वा अर्को Snap Visit हुने कुरा क्याम्पसले आगामी दिनमा गर्ने क्रियाकलाप माथि निर्भर रहने जानकारी दिनुभयो । उक्त भ्रमण टोलिले क्याम्पसले सुधार गर्नुपर्ने अल्पकालिन र दिर्घकालिन सुझावहरु प्रदान गरेको छ ।

टोलीले विद्यार्थीहरूसँग पनि प्रत्यक्ष अन्तरक्रिया गर्दै शैक्षिक वातावरण, सिकाइ–सुविधा, पहुँच तथा विद्यार्थी अनुभवका विषयमा प्रतिक्रिया संकलन गरेको थियो । अवलोकन तथा अन्तरक्रियाका सबै सत्र सम्पन्न गरि ०८२/०८/२२ गते  टोली काठमाडौँ फर्किएको छ।

For Photos : facebook.com/urlabarimcampus