UMC Affiliated to Tribhuvan University

मिति : २०८३/०४/२४
उर्लाबारी, मोरङ
उर्लाबारी बहुमुखी क्याम्पसमा शिक्षण-सिकाइ प्रक्रियालाई थप प्रविधिमैत्री, आधुनिक र प्रभावकारी बनाउने उद्देश्यका साथ Moodle प्रणालीमा आधारित LMS (Learning Management System) तालिम सफलताका साथ सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध यस क्याम्पसको मानव संसाधन तथा पदपूर्ति उपसमितिको स्वीकृत वार्षिक कार्ययोजना अनुसार साउन २४ गते आइतबार क्याम्पसको सभाहलमा उक्त तालिमको आयोजना गरिएको थियो।
तालिममा क्याम्पसमा अध्यापनरत प्राध्यापकज्यूहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी प्राध्यापकज्यूहरूले आफूले अध्यापन गराउने विषयको पाठ्यक्रम (Syllabus) र ल्यापटपसहित सहभागी भई Moodle प्रणालीको प्रयोग, अनलाइन शिक्षण-सिकाइ व्यवस्थापन, पाठ्यसामग्री अपलोड गर्ने, विद्यार्थीको सिकाइ गतिविधि व्यवस्थापन गर्ने तथा मूल्याङ्कन गर्ने तरिकाका सम्बन्धमा व्यावहारिक अभ्यास गर्नुभएको थियो।
उक्त तालिममा सहजकर्ताका रूपमा डा. टोलानाथ काफ्लेज्यू र शान्तिराम दाहालज्यूले Moodle LMS को प्रयोग र यसका विविध आयामहरूबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
यस तालिमले प्राध्यापकज्यूहरूलाई परम्परागत शिक्षण पद्धतिसँगै डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षण-सिकाइलाई थप प्रभावकारी, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन ठूलो सहयोग पुग्ने विश्वास मानव संसाधन उपसमितिका संयोजक श्री मुक्ति प्रकाश न्यौपानेज्यूले व्यक्त गर्नुभएको छ।
तालिमका सम्बन्धमा विचार राख्दै क्याम्पस प्रमुख श्री खेमराज कार्कीज्यूले क्याम्पसको समग्र शिक्षण-सिकाइ प्रक्रियालाई समयअनुकूल र प्रविधिमैत्री बनाउने उद्देश्यले यो LMS तालिम सञ्चालन गरिएको बताउनुभयो। क्याम्पस प्रशासन आगामी दिनमा पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक विस्तार गर्दै पठनपाठनको गुणस्तर अभिवृद्धि गर्न पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ।