मिति : २०८३/०४/२३
उर्लाबारी, मोरङ
उर्लाबारी बहुमुखी क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यका साथ एकदिने अभिमुखीकरण कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।
क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोष, केन्द्रीय कार्यालय थापाथलीका सहायक निर्देशक श्री रमेश ढुंगेलज्यूले सामाजिक सुरक्षा कोषको आवश्यकता, योगदानमा आधारित प्रणाली, कोषमा आबद्ध भएपछि प्राप्त हुने विविध सुविधा तथा प्राध्यापक-कर्मचारीहरूको सक्रिय सहभागिताका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो।
कार्यक्रममा क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीज्यूहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा प्राप्त हुने सुविधा, योगदानको प्रक्रिया र यसको व्यावहारिक कार्यान्वयनका विषयमा जिज्ञासा राख्दै महत्वपूर्ण जानकारी हासिल गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख श्री खेमराज कार्कीज्यूले प्राध्यापक तथा कर्मचारीहरूको सामाजिक सुरक्षालाई संस्थागत बनाउन क्याम्पसले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। उहाँले सामाजिक सुरक्षाले कर्मचारीको वर्तमानसँगै भविष्यलाई समेत सुरक्षित र सुनिश्चित बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
क्याम्पस प्रशासनले प्राध्यापक तथा कर्मचारीहरूको पेशागत सुरक्षा र समग्र कल्याणलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको छ। आगामी दिनहरूमा पनि यस्ता उपयोगी र हितकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दछौँ।
उक्त कार्यक्रम मानव संशाधन तथा पदपूर्ति उपसमितिका संयोजक श्री मुक्ति प्रकाश न्यौपानेज्यूको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो।




